Pages

Tuesday, March 26, 2013

आमैको कमेन्ट्री


आमा तपाईको उमेर कति भयो ? उमेरले चाउरिएको तर हँसिलो अनुहारलाई फुरुगं पार्दै उनि भन्छिन्–२००४ सालको बैशाखमा जन्मिएकी रे म, दिन उनलाई याद रहेनछ । “ए पैसठ्ठी वर्षको हुनुएछ” मलै जवाफ फर्काएँ । “त्यो भनेको कति विस हो ? उनको प्रति प्रश्न थियो– तिन विस पाँच वर्ष ।  किर्तीपुर मैदानको मिडिया वक्समा उनि यसरी अचानक आइपुगेकी थिइन कि जसले मेरो उनिप्रतिको उत्सुकता कम थिएन । उमेरको हिसावकितावपछि पनि हाम्रो कुराकानी रोकिएन ।
 सन् २००३ देखि किर्तीपुर मैदान धाउन थालेकी म स्वयंलाई उनको उपस्थिती नौलो थियो । कहिले रिर्पोटर त कहिले स्कोररका रुपमा मैदानमा पुग्दा मैले विरलै नै महिला दर्शकको उपस्थिती देखेकी थिए। २००७ मा महिला क्रिकेटको चहलपहल सुरु भएपछि मात्र महिला दर्शकको उपस्थिती हुन थालेको हो । खेलाडीका आफन्त वाहेक यहाँ न कोही आमा आएको देखेको छु नसुनेको नै । आज अचानक उनको आगमनमा मेरो मनमा प्रश्नका लहर ओइरिएका थिए । मोवाइलको सदुपयोग गर्दै म उनलाई  प्रश्न  गर्दै र त्यसलाई रेकर्ड गर्दै गएँ ।
 आमा तपाईको नाम,  मेरो नाम महादेवी भट्टराई
घर नी,  भोजपुर, षडानन्द गुरु र मेरो जन्मस्थल संगै हो
अनि किर्तीपुर कहिल्यैदेखि आको नि ? मेरो यो प्रश्नसँगै उनको क्रिकेट मैदानप्रति गुम्सिएका सवै उत्सुकता यसरि पोखियो । “म यहाँ आको आठ वर्ष भयो, टियू क्वाटरमा वस्छु , छोरो यहि पढाउछ , वुहारी नागरिक लगानी कोषमा जागिरे छ, छोरो अहिले पिएचडी गर्न विदेश गाको छ, नाति नातिनी छन् । उनिहरुलाई स्कुल पुर्याउने र ल्याउने काम मेरो हो । आज स्कुल विदा छ, त्यसैले मेरो पनि छुट्टि ”....(विचैमा) हैन त्यो  सेतो  गेडो कहाँ गयो ? लौ यो विचको सन्दर्भ नमिल्ने प्रश्नले म त छक्कै परे, तर कुरो वुझिहाँले । उनको त्यो सेतो गेडो भनेको त ‘क्रिकेट बल’ पो रहेछ । मालदिभ्सको खेलाडीले व्याटिङ गर्दा हानेको बल नदेखेर ठम्याउन नसकेपछि पो सोधेकी रैछिन् आमैले ।
 “आमैको कमेण्ट्रि सुनेर मनैमने हाँस उठ्यो । तर उनलाई सम्झाँए, आमा त्यसलाई बल भन्छन् । मेरो जिज्ञासा सकिएको थिएन, अनि आमा तपाइलाई थाहा छ , यो खेललाई के भन्छ ? ...‘क्रिकेट मैदान’ । उनको छोटो जवाफ ।
मैले फेरि सँच्चाए खेल–क्रिकेट, अनि खेल्न ठाउँ– मैदान । “त्यहि त नानी आठ वर्ष भयो यहिँ नजिक वसेको । मान्छेहरु कराएको सुन्छु, आएको गएको देख्छु ,तर आफुलाई कसरी यहाँ आउने थाहा थिएन, जान्छु भन्यो वुहारी आमा तपाई केहि वुजनु हुन्न किन जानु पर्यो भन्थि । आजपनि धोति लुकाइदिई, लौ जा त, भनेर लगाइरहेकै पुरानो धोतीमै आएँ, गार्डले रोक्दै थिएँ तर वुढि देखेर छाडिदिए
.....साँच्चि नानी यो खेल खेलिन्छ कसरी? फेरि विचैमा उनको म प्रश्न । आमा डन्डिवियो खेल्नुभएको छ ? मेरो प्रश्न । ‘छ नि कत्ति खेलियो डन्डी वियो, गट्टा, अनि सिन्का लुकाउने खेल, उनको जवाफ ।
वेलावेलामा मैदानतिर हेदै उनि मलाइ बालापनको आफ्नो कथा सुनाउन थालिन् । “पढ्रन आउदैन, सानो वेलामा भाइसँग तिन दिन स्कुल गाकोथे, क ख ग घ ङ यत्ति जाने, पछि हजूरआमाले छोरी पढे भने पोइल जान्छन् भनेर जान दिइनन, उनको दुखेसो ।  शायद उनि पढन नआएकोले वुझिन भन्न चाहन्थिन ।

यत्तिकैमा मालदिभ्सका व्याट्स्म्यान रन लिन थाल्छन, म उनलाई वुझाउन थाल्छु , आमा डन्डिवियोमा सानो लठ्ठी हुन्छ, यसमा फ्याँक्ने वल अनि त्यसलाई हिर्काउने अनि दौड्ने । एकपटकको एक रन, दुइपटकको दुई रन । ए ! ए ! अनि यसमा पनि मर्छ ? उनको प्रश्न डन्डिवियोको नियम, अव उनि क्रिकेटमा मिलाउदै छिन । ‘मर्छ नि आमा’, मेरो जवाफ सकिन नपाउदा व्याट्स्म्यान वोल्ड आउट हुन्छ । ल हेर्नुस उ मर्यो । ए हो त ही, उनको सटिक जवाफ ।
 उनको तत्काल प्रतिक्रिया मा मैले केहि वुझेको आत्मविश्वास पाएँ । आफुलाई पनि पहिलो वसाईमै क्रिकेटप्रतिको उनको उत्साहलाई उनकै आफ्नो जिवनको रंगमा मिसाउन पाउदा कम्ति खुशि लागेन । त्यो पनि होलिको दिन । तर मलाई थाहा छैन, यो उमेरमा नयाँ खेल त्यसमाथी पनि क्रिकेट पुरै टेक्निकल, कति वुझिन् होला आमैले ।
 यद्यपी उनले मलाई धन्यवाद दिन छाडिनन् “यी नानीले कस्तो सजिलोसँग वुझाइदिइन” त्यत्तिकैमा खेल सकियो । मैले भने आमा नेपालले जित्यो । मैले पहिले नै उनलाई फिल्डीङ गरिरहेको नेपाली टिमका एकएक सदस्य चिनाइदिइसकेकी थिए। अमृत भट्टराईसँग थर मिलेपछि घर ठेगाना सवै सोधेकी थिइन, ति भट्टराई आमैले ।
 ए अर्कापट्टिको सवै मरे  ? यो प्रश्नमा म अव के भनुँ ! मरेका थिएनन् सात विकेट झरेको । उनकै भाषामा सातजना मात्र मरेको । तर कसरि वुझाउँ कि ओभर सकियो भनेर । “हजुर सकियो” अहिलेलाई यहि उत्तर ठिक लाग्यो ।
मलाई थाहा छैन पहिलो वसाईमा महादेवी आमाले क्रिकेट कति वुझिन, तर एउटा आश चाँहि लागिरह्यो । त्यो ‘बलको सट्टामा गेडो र विकेट झर्नुलाई मर्नु’ उनको मौलिक भाषाको कमेन्ट्री, फेरि त्यो मैदानमा दोहोरिनेछैन । मैले डन्डिवियो, र उनको वाल्यकालसँग जोडिदिएको क्रिकेटको नाताले उनलाई फेरि फेरि क्रिकेट मैदानमा तानेर ल्याउनेछ । एकदिन उनी आफुसँगै नाति र नातिनी वोकेर आउनेछिन् र भन्नेछिन्,  ल हेर, ति मैदानमा खेल्नेहरुका लागि कत्तिले ताली पिटिरहेछन्, तिमीहरु पनि त्यसैगरि सवैको वाहवाह पाउने कोशिस गर ! ¬

1 comment: