Pages

Tuesday, August 3, 2021

“मैदान भित्र र बाहिर” पारस

 “

तस्विर सौजन्य: रमन शिवाकोटी
पारसले अन्तराष्ट्रिय क्रिकेटवाट सन्यास लिए” त्यो  पनि कोरोना महामारीको समयमा, कुनै खेल  मैदानवाट नभई सामाजिक सन्जालवाट। पारसका  लाखौ समर्थकले उनको सन्यासको पल (जुन हरेक   फ्यानले हेर्न चाहन्छ) महसुस गर्न पाएनन् ।  यो खवरले अरुसँगै मलाइ पनि नरमाईलो लाग्यो ।   अव राष्ट्रिय क्रिकेट जर्सीमा उनलाई देख्न पाइने छैन । कप्तानी छाडेपनि उनि मैदानमा थिए ।

 एक प्रकारको हौसला थियो । तर अव त्यो पनि नरहने भयो । तर यो खल्लोपनभित्र पारस क्रिकेटवाट टाढा रहदैनन अव के गर्लान भन्नेकतूहलतामा पनि मिसिएको थियो ।

दुई वर्ष अगाडी उनले कप्तानको जिम्वेवारीवाट विश्राम लिदाँ मैले एउटा ब्लग लेखिसकेको थिएँ (कप्तान होईन भाइ भन्नुस भाइ) । नेपाली क्रिकेटमा सर्वाधिक चर्चित खेलाडी पारसले क्रिकेटरको भूमिकालाई नै छाडेको यो पलमा अव के लेखौं? विषयको त कमि थिएन । 

 उनीससँगका स्मृतिहरु यति छन् कि शब्दमा उतार्न सकिन्न । आफ्नै आँखा अगाडी पारसको क्रिकेट क्यारिएर मौलाएको हेरियो । उनको नेतृत्वमा नेपाली क्रिकेट फस्टाएको हेरियो । उनको निर्डर नेतृत्वमा अरु क्रिकेटरहरु परिपक्व भएको हेरियो । अझै मन अघाएको छैन। नेपाली क्रिकेटका पर्याय बनिसकेका पारसलाई क्रिकेटवाट अलग्याएर हेर्नु पनि सकिन्न । त्यसैले पनि उनको जिवनको यो महत्वपूर्ण निर्णयमा केहि नलेखि बस्न सकिएन। कहाँवाट सुरु गर्ने होला

ब्लग लेख्दै गर्दा यो सुन्दर कार्ड तयार गरिदिने प्रियंकालाइ धन्यवाद…

पारसको ठुलो समर्थक तथा मेरी सहकर्मी प्रियंका कापरसँग मैले यो मेरो उकुसमुकुस शेयर गरें । पारस भनेको नेपाली किक्रेटको आशा हो, जवसम्म उनी छन्, नेपाली क्रिकेटमै छन् उनको भूमिका मात्रै फरक होला, हो यहि आशाको वारेमा लेख्नुसउनले यो सटिक सल्लाह दिइन् । यहाँनेर लाखौं समर्थकको जस्तै उनको र मेरो कुरा मिल्यो। 

शायद धेरै समर्थक र नेपाली क्रिकेटका शुभचिन्तकको मनमा पनि यहि सवाल अनि यस्तै निष्कर्ष होला यतिवेला।

अन्तराष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन्उनले निकाले बक्तब्यमा पनि यहि वाक्य लेखेका छन् । पारस यस्ता क्रिकेटर हुन जो मैदान भित्र र बाहिर उत्तिक्कै राम्रो क्रिकेट खेल्न सक्दथे । मैदानमा उनी ब्याट र बलले प्रहार गर्दथे भने मैदान बाहिर नेपाली क्रिकेटको बारेमा चिन्ता ब्यक्त गरेर क्रिकेट ब्यवस्थापन गर्न खोज्दथे ।

मैदानमा घण्टौं विताउनले मात्र नभई नेपाली क्रिकेटको उचित ब्यवस्थापनका लागि मध्यरातसम्म पनि छलफलमा व्यस्त रहन सक्दथे । यहि ब्यक्तित्वले उनलाइ अरुभन्दा बेग्लै र विशेष बनाएको छ । त्यसैले त उनको सन्यास घोषणामा किन यति छिटो? “सामाजिक सन्जालमा धेरैले प्रश्न गरेका छन् । साथमा उनको सफल दुई दशकको यात्रामा योगदानको कदर गर्दै धन्यवाद अनि आगामी दिनमा सफलताको कामनागरेका छन्। उनि प्रतिको यो सरोकार, यो शुभच्छा खेर नजाने संकेत पारस आफैले गरिसकेँ । अव क्रिकेट ब्यवस्थानमा जोड दिने प्रतिक्रिया दिएर।  

तस्विर सौजन्य : रमन शिवाकोटी

 हारको संघारवाट हत्तोत्साहित नभइकन जितको स्वाद  चखाउने क्षमता भएका पारसको मूल मन्त्र  भनेको  सामूहिक भावना हो। दम्भ भएको अब्वल  बिसौं खेलाडी भन्दा सामूहिक भावना   भएको अठारौं या उन्नाईसौं खेलाडी   महत्वपूर्ण हुने बताउने पारस यही सामूहिक भावनामा क्रिकेट व्यवस्थापना लाग्नेछन्, यो क्षणमा खुशिको कुरा यहि हो । नेपाली क्रिकेटको एक दिवसीय   मान्यताका सपना पुरा गर्नु अनि टिट्वान्टी विश्वकपमा  नेपालले खेल्नु पारसकै नेतृत्वमा संभव   भएको थियो ।

हारको संघारमा पुगेर पनि जितको हिसावकिताव गर्न नछोड्ने गज्जवको क्षमता उनमा छ । अव लथालिङ्ग क्रिकेट व्यवस्थानलाइ समेट्ने र युवा क्रिकेटरमा संभावनाका क्षितिज उघार्ने जोड घटाउ गरेरै उनले यो सन्यासको निर्णयका लिएका होलान। उनको यो निर्णयमा, सफल कप्तान, सफल खेलाडीका लागि मैदानभित्रको इनिङ्का लागि बधाई । क्रिकेट व्यवस्थापनको मैदान वाहिरको अवको दोस्रो इनिङ्का लागि शुभकामना ।

Thursday, August 20, 2020

राष्ट्रकविको “जापानी नानी”

ए आमै तल आउ त दक्षिणकालीवाट हाम्रा लागि खुवा र नासपाती आएको छ लैनचौरस्थित कविवर ज्यूको घर पहिलो पटक पुगेका हामी,  माथिल्लो तल्लामा रहनु भएकी आफ्नी श्रीमतिलाइ बोलाउदै भन्नु भयो । शुभद्रा साहित्यिक पत्रिका निकाल्ने योजनामा रहेका हामी, राष्ट्रकवि ज्यूलाई सल्लाहकार वसिदिनु हुन अनुरोध गर्नका लागि वहाँको घरमै पुगेका थियौं। मेरा मित्रहरु रिता वलामी र विरेन्द्र वलामीको पछी लागेर म कविवर ज्यूको घरमा पुगेको थिएँ । साहित्यमा दुईको विशेष दख्खल थियो ।

 नेपाली गीत संगितमा विशेष रुचि बढ्दै जाँदा गाउँ छ गीत नेपाली” “फूलको थुंगा बहेर गयो गंगाको पानीमाजस्ता गीतहरुमार्फत वहाँको परिचय वाल्यकालमै पाएकै थिए । सरल र सरस भाषाका खानी माधवप्रसाद घिमिरे, जीवन र जगतमा रहेकाका सबैका लागि प्रिय हुनु स्वभाविक थियो । मेरा लागि त्यो भेट साहित्यिक तिर्थ नहुने कुरै भएन । यिनी त जापानी नानी जस्तै रहिछ्न गोरो अनुसार, चिम्सा आखा र उचाइ देखेर होला शायद कविवरले मेरो परिचय आफैले बनाइ दिनुभयो । पहिलो प्रत्यक्ष भेट र यो नयाँ उपमा, म यसै फूरङ्ग ! छोटो मिठो भेट,  न्यानो परिचय र सल्लाकार बस्नका लागि वहाँको स्विकारोक्ति । अलग्गै उर्जा दियो त्यो भेटले। 

समय चक्रमा घुमियो । साहित्यिक दौडमा होमिएका हाम्रा पाइला परिवि साहित्यिक समूहवाट सुरु भएको थियो। राष्ट्रकविको आशिर्वाद र धेरैको साथ थियो । यतिहुँदाहुँदै पनि केहि समयपछी हाम्रो पत्रिकाले निरन्तरता पाउन सकेन । वाँच्नका लागि संघर्ष गर्न आयआर्जन अपरिहार्य थियो । त्यसमाथि काँठे छोरीको जिन्दगी, लडाँइका धेरै पाटामा एकै पटक र उत्तिकै उपस्थिती जनाउन नसकिँदोरहेछ । २०५६ सालमा भएको भेटघाटपछि हामी माधवप्रसाद घिमिरेसँग मात्र दुई वर्ष निरन्तर सम्पर्कमा रहन पायौं। ति दिन पछि हामीमध्ये रिता मात्रै साहित्यमा निरन्तर हुनुहुन्छ र कविवरको सामिप्य पनि।

साहित्यमा जीवन र जगत वाँचेको हुन्छ, दु: ख हाँसेको हुन्छ र सुख रोएको हुन्छ। नेपाली साहित्यलाई प्रत्यक्ष मलजल गर्न सकिएन, दु:ख त छदैछ। तर कविवरको सक्रिय जिवन देखेर म आफू वहाँसँगै वाँचिरहेको अनूभति गर्दथे। जहाँजहाँ माहोल हुन्छ र नेपाली स्रष्टाका विषयमा चर्चा परिचर्चा हुन्थ्यो म मेरो जापानी नानीको छोटो संसारमा पुगिहाल्थे र संगै वसेकालाइ वहाँसँगको भेट र मेरो नौलो परिचयको घटना सुनाउथे ।

वहाँको १०१ वर्षको सक्रिय जिवन मेरा लागि आत्मसन्तूष्टिका उर्जा थिए। कविवरले बाँचेको जिवन मेरा लागि प्रेरणा। जव वहाँको निधनको खवर पढेँ, फेरि एकपटक जापानीज नानकी मिठो अनुवभ सम्झिए । म जस्ता लाखौंले वहाँसँग जिवन वाँच्ने प्रेरणा पाएका छन् भनि सम्झिए। मनमनै वहाँलाइ धन्यवाद दिएँ र दिवंगत आत्माका शान्तिको कामना गरेँ। 

नेपाली साहित्यको एक शताब्दीको इतिहास माधवप्रसाद घिमिरको पार्थिव रिर पशुपति आर्यघाटमा जलिरहेको टेलिभिजनमा हेरिरहँदा मैलै वहाँको अनुहार, सन्तुष्टिले धपक्क बलिरहेको महसुस गरेँ। जीवन वाँचेको सन्तुष्टि थियो त्यो शायद । माटो, बाटो र विसौनीहरुमा कलम र भाव मार्फत उर्जा भर्न सफल भएको खुशि थियो शायद । म जस्ता धेरै जापानी नानीका सपना बुनिदिएको र उर्जा थपिदिएको आत्मसन्तुष्टि थियो । साहित्यसँग धेरै नेपालीलाई मनमुटु साट्न सिकाउनु भएको किरणको ज्योति थियो त्यो ।


Tuesday, October 15, 2019

"कप्तान होइन भाई भन्नुस भाई"


के छ कप्तान? मेरो प्रश्न ।
जवाफ: कप्तान होईन भाइ भन्नुस भाइ।
किन कप्तान ? मेरो प्रतिप्रश्न
जवाफ: कप्तान त सधै म रहन्न, तर भाइ सदैव रहिरहन्छु।
यति हुँदा हुँदै पनि मैले कहिल्यै पारसलाइ "कप्तान" भन्न छाडिन । यसको मतलव उ मेरो भाइ थिएन या होइन भन्ने पनि होइन ।
सन् २०११ मा काठमाडौंमा भएको एसीसी टि-ट्वान्टी क्रिकेट प्रतियोगिताका दौरान कप्तान पारस खड्कासँग यो संवाद भएको थियो। कप्तान र भाइको यो संवादको शिलशिला हाम्रो भेटमा चलिरहेकै थियो।
तिनै पारसले एक दशकको कप्तानी भूमिकावाट विश्राम लिएको खवर मंगलवार अचानक सुन्न पर्दा अरु सवै सरह म पनि आश्चर्यमा परे । अहिले पनि परिरहेकी छु । के अव साँच्चै उनि कप्तान रहेनन् त? मैले अव कप्तान भन्न नपाउने भए? मुड अफ भयो । काम गर्न मन लागेन। फोन गरेँ । मसँग कुरा भयो अव खुशिसँग काम गर्नुहोसपारसले हाँसेर जवाफ फर्काए।
पारसलाई नेपाली क्रिकेटले कप्तान सन् २००९ मा वनायो । तर मेरा लागि उनी त्यस अघि नै कप्तान भईसकेका थिए । यही कारण म उनलाइ भाई भन्दा धेरै कप्तानसम्वोधन गर्न मन पराउँथे । यो कारण मैले पारसलाइ समेत भनेकी छैन । घरेलु प्रतियोगितामा स्कोरिङ् गरिरहदा नै मैले पारसलाइ चिनेकी थिएँ । अन्तरस्कूल प्रतियोगिता देखि नेपालको जूनियर टिममा खेलाडी रहदा उनी मेरो मन पर्ने व्यक्तित्व थिए । यसका कारण छन् । पहिलो कारण त उनी यति दुब्ला र अग्लो थिए की खेलाडीहरुमा उनको पृथकता सजिलै झल्किन्थ्यो । अहिले पनि खासै फेरिएका छैनन् । दोश्रो उनको खेल र टिमका अरु सदस्यप्रतिको व्यवहार यति सहज थियो की नेतृत्वको पारा सहजै अनुमान गर्न सकिन्थ्यो ।
एउटा विशेषता झनै बेग्लै थियो । आफूले खेलका हरेक इनिङ् पछि उनी स्कोरिङ् डेस्कमा आउथे । पहिले आफ्ने प्रदर्शन केलाएर हेर्दथे । धेरै रन वन्यो या धेरै विकेट हात पर्यो भनेर उनी मख्ख पर्दैनथे । कमजोरी केलाउन (वल, रन अतिरिक्त रन) तल्लिन हुन्थे। आफ्नो मात्रै हैन टिमकै प्रदर्शन विस्तृतमा केलाउथे ।  उनको यो लक्षणले नै कप्तानी झलक दिन्थ्यो। हो कहिलेकाँही मेरो होचो उचाइसँग ठट्टा गरेर मलाइ छेक्दै बाउन्ड्री लाइनमा मेरो अगाडी नउभिएका भने होइनन् यी कप्तान। तर त्यो अमूल्य अनुभवको सून्दरताको महत्व झनै प्यारो र अविस्मरणीय छ मेरा लागि ।

भाइ/कप्तान पारससँग यति नजिक भइए छ की आज यो व्लग लेख्दै गर्दा हामी दुईको फोटो खोजेको एउटा मात्र पाएँ त्यो पनि शरद, पारस र मेरो। 
शायद तस्विर लिने आवश्यकता महसुस नै भएन । न घरेलु प्रतियोगितमा, न अन्तराष्ट्रिय प्रतियोगितामा । न सन् २०१४ को वंगलादेशमा भएको आइसीसी टिट्वान्टी विश्वकप क्रिकेटमा । झल्याँस सम्झिए । एउटा फोटो थियो एमसीसीको टीम नेपाल आउदा पिच नजिकै खिचेको जसमा म विचमा मेरो दायाँ र वायाँ पारस र शक्ति गौचन थिए: “नेपाल भारत र चिनको साइज जस्तै देखिने, कता हराएछ । त्यो पनि भेटिन ।  

खेलाडीका रुपमा पारसले वनाएको किर्तीमान र कप्तानको रुपमा उनले नेपाललाइ दिलाएको सफलताको ज्ञान नेपाली क्रिकेटमा समर्थकलाइ कण्ठै छ । जुन वयान मलाइ गर्नु छैन । कप्तानवाट विश्रमा लिए पनि पारस खेलाडीका रुपमा मैदानमा अझै चम्किनेछन् र यस्ता किर्तीमान थपिदै जानेछन् । यसमा शंका गर्नु पर्ने ठाउँ छैन । 
व्यक्तिका रुपमा पारसका धेरै संगतिलाइ, टिमका खेलाडीलाइ उनको व्यवहार थाहा छ । तर क्रिकेट मैदानमा पहिलो महिला स्कोररको रुपमा प्रवेश गर्दा भएको हिच्किचाहट, पूरुष मैत्री क्रिकेट मैदान यी विविध अप्ठयाराहरु विच क्रिकेटरहरु नै मेरो परिवार थिए । यस्तैमा विनोद दास, शक्ति गौचन, शरद भेषावकर, मन्जित श्रेष्ठ यशवन्त सुवेदी इरफान सिद्दीकी यी नामहरु थिए । पछी कनिष्क चौगाइ अन्तिम थापा मगर, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, पारस खड्का लगायतका नाम थपिदै गए । उनीहरुको न्यानो माया र आदरका कारण क्रिकेटमा मैले लगभग १२ वर्ष विताएका दिनहरु सुनौला थिए। पारससँगका यस्ता धेरै गाथा छन् । जुन फुकाउँदै जाउँला । पत्रकार र स्कोररको दोहोरो भूमिका र खेलाडीसँगको सुमधुर सम्वन्धका विचमा रहदा व्यवसायिकतामा अप्ठयारो परेका घटनाहरुका सूचि पनि कम छैनन् । जुन स्भाविकै थियो ।

फरक-फरक भूमिकाको सँगतमा मैले नियालेको पारस खड्का हरतरहवाट कप्तान थिए । त्यसैले म भाई भन्दा "कप्तान" भन्न रुचाउथे । नेतृत्वको क्षमताले भरिएका, मैले चिनेको कप्तान पारस, निरन्तर रुपमा अडिग र हरसंभव खेल जित्न कोशिस गर्ने तर खेल सकिएपछी नतिजामा निराश नहुने, टिमलाइ हौसला दिइरहने, आफ्ना सहकर्मीको कहिले पनि नराम्रा कुरा नगर्ने, उनीहरुको क्षमताको कदर गर्ने र नेपाली क्रिकेटका लागि हरदम हरेक ठाउमा उपस्थित भईरहने एउटा सच्चा क्रिकेटर हुन । यही कारण पारस मेरा लागि सदैव कप्तान अघि हुन र भाइ पछी । प्राविधिक रुपमा उनलाई अव कप्तान सम्वोधन गर्न पाइन्न भनेर नै उनको सम्मानमा मैले यी हरुफहरु लेखेकी हुँ । ता की पारस मेरा लागि स्नेही भाइ त छदैछन् सदैव एउटा कूशल कप्तान रहीरहून । रहि पनि रहनेछन् । ठाउँ र भूमिका फरक होला तर उनको नेतृत्वको आभाष मैले मात्र होइन सिंगो नेपाली क्रिकेटले निरन्तर पाई नै रहनेछ आशा छ।