“ए आमै तल आउ त दक्षिणकालीवाट हाम्रा लागि खुवा र नासपाती आएको छ” लैनचौरस्थित कविवर ज्यूको घर पहिलो पटक पुगेका हामी, माथिल्लो तल्लामा रहनु भएकी आफ्नी
श्रीमतिलाइ बोलाउदै भन्नु भयो । शुभद्रा साहित्यिक पत्रिका निकाल्ने योजनामा रहेका
हामी, राष्ट्रकवि ज्यूलाई सल्लाहकार
वसिदिनु हुन अनुरोध गर्नका लागि वहाँको घरमै पुगेका थियौं। मेरा मित्रहरु रिता
वलामी र विरेन्द्र वलामीको पछी लागेर म कविवर ज्यूको घरमा पुगेको थिएँ । साहित्यमा
दुईको विशेष दख्खल थियो ।
नेपाली गीत संगितमा विशेष रुचि बढ्दै जाँदा “गाउँ छ गीत नेपाली” “फूलको थुंगा बहेर गयो गंगाको पानीमा” जस्ता गीतहरुमार्फत वहाँको परिचय वाल्यकालमै पाएकै थिए । सरल र सरस भाषाका खानी माधवप्रसाद घिमिरे, जीवन र जगतमा रहेकाका सबैका लागि प्रिय हुनु स्वभाविक थियो । मेरा लागि त्यो भेट साहित्यिक तिर्थ नहुने कुरै भएन । “यिनी त जापानी नानी जस्तै रहिछ्न” गोरो अनुसार, चिम्सा आखा र उचाइ देखेर होला शायद कविवरले मेरो परिचय आफैले बनाइ दिनुभयो । पहिलो प्रत्यक्ष भेट र यो नयाँ उपमा, म यसै फूरङ्ग ! छोटो मिठो भेट, न्यानो परिचय र सल्लाकार बस्नका लागि वहाँको स्विकारोक्ति । अलग्गै उर्जा दियो त्यो भेटले।
समय चक्रमा घुमियो । साहित्यिक दौडमा होमिएका हाम्रा पाइला परिवि साहित्यिक समूहवाट
सुरु भएको थियो। राष्ट्रकविको आशिर्वाद र धेरैको साथ थियो । यतिहुँदाहुँदै पनि
केहि समयपछी हाम्रो पत्रिकाले निरन्तरता पाउन सकेन । वाँच्नका लागि संघर्ष गर्न
आयआर्जन अपरिहार्य थियो । त्यसमाथि काँठे छोरीको जिन्दगी, लडाँइका धेरै पाटामा एकै पटक र उत्तिकै उपस्थिती जनाउन नसकिँदोरहेछ
। २०५६ सालमा भएको भेटघाटपछि हामी माधवप्रसाद घिमिरेसँग मात्र दुई वर्ष निरन्तर सम्पर्कमा रहन पायौं। ति दिन पछि हामीमध्ये रिता मात्रै साहित्यमा निरन्तर हुनुहुन्छ र कविवरको सामिप्य पनि।
साहित्यमा जीवन र जगत वाँचेको हुन्छ, दु: ख हाँसेको
हुन्छ र सुख रोएको हुन्छ। नेपाली साहित्यलाई प्रत्यक्ष मलजल गर्न सकिएन, दु:ख त छदैछ। तर कविवरको
सक्रिय जिवन देखेर म आफू वहाँसँगै वाँचिरहेको अनूभति गर्दथे। जहाँजहाँ माहोल हुन्छ
र नेपाली स्रष्टाका विषयमा चर्चा परिचर्चा हुन्थ्यो म मेरो “जापानी नानी” को छोटो
संसारमा पुगिहाल्थे र संगै वसेकालाइ वहाँसँगको भेट र मेरो नौलो परिचयको घटना
सुनाउथे ।
वहाँको १०१ वर्षको सक्रिय जिवन मेरा लागि आत्मसन्तूष्टिका उर्जा थिए। कविवरले बाँचेको जिवन मेरा लागि प्रेरणा। जव वहाँको निधनको खवर पढेँ, फेरि एकपटक जापानीज नानकी मिठो अनुवभ सम्झिए । म जस्ता लाखौंले वहाँसँग जिवन वाँच्ने प्रेरणा पाएका छन् भनि सम्झिए। मनमनै वहाँलाइ धन्यवाद दिएँ र दिवंगत आत्माका शान्तिको कामना गरेँ।
नेपाली साहित्यको एक शताब्दीको इतिहास माधवप्रसाद घिमिरको पार्थिव शरिर पशुपति आर्यघाटमा जलिरहेको टेलिभिजनमा हेरिरहँदा मैलै वहाँको अनुहार, सन्तुष्टिले धपक्क बलिरहेको महसुस गरेँ। जीवन वाँचेको सन्तुष्टि थियो त्यो शायद । माटो, बाटो र विसौनीहरुमा कलम र भाव मार्फत उर्जा भर्न सफल भएको खुशि थियो शायद । म जस्ता धेरै “जापानी नानी” का सपना बुनिदिएको र उर्जा थपिदिएको आत्मसन्तुष्टि थियो । साहित्यसँग धेरै नेपालीलाई मनमुटु साट्न सिकाउनु भएको किरणको ज्योति थियो त्यो ।
No comments:
Post a Comment