Pages

Showing posts with label Nepal Sports Journalist Forum (NSJF). Show all posts
Showing posts with label Nepal Sports Journalist Forum (NSJF). Show all posts

Friday, August 5, 2016

खेलकुद पत्रकारिताका चुनौती



खेलकुद पत्रकारिता के हो ? जित र हारका समाचार वा यो भन्दा बढी ।  प्रशिक्षक र खेलसंस्थाको गल्ति कमजोरी औंल्याउनु वा खेल नियमको व्याख्या गर्नु । प्रश्न यतिमा सीमित छैन र सहज पनि । खेलकुद पत्रकारिता गर्न खेलका सबै नियम जान्नै पर्छ, या आफूलाइ मन पर्ने वा आफुले बुझ्ने खेलको मात्र रिर्पोटिङ गर्दा हुन्छ ? अझ खेलकुद पत्रकार कुनै खेलको खेलाडी नै भए सुनमा सुगन्ध । यस्तै धेरै तर्क खेलकुद पत्रकारिताका कौतुहलता र चर्चाका विषय हुने गरेका छन् ।
खेलकुद पत्रकारितालाइ पत्रकारिताको विभिन्न क्षेत्र र विधामध्य वेग्लै र चुनौतीपूर्ण बनाउने कारणहरु पनि यिनै हुन् ।
पत्रकारिताको क्षेत्रमा खेलकुद पत्रकारितालाइ बिशेष पत्रकारितामा गनिन्छ । खेलको प्राविधिक ज्ञान, खेल नियम र खेलकुद संरचनाको जानकारी, सही ब्याख्या र समालोचना खेलकूद पत्रकारमा हुनु पर्ने आधारभूत गुण हुन् । सन्चार माध्यममा देखिएको डिजीकल पत्रकारिता, सन्चार माध्यमले साँघुरो वनाएको विश्वले खेलकुद पत्रकारितामा अहिले नयाँ आयाम थपेको छ । खेलकुद आफैमा विश्वब्यापी भाषा हो जसलाइ विश्वकै जुनसुकै कुनामा रहेका ब्यक्तिले बुझ्न सक्दछन् । यसैकारण यो अन्तराष्ट्रिय विषय हो । कुनै पनि अन्तराष्ट्रिय खेलकुद त्यसको लोकप्रियताका कारण कुनै पनि राष्ट्रका लागि मुख्य समाचार बन्न सक्छन् । यसै लोकप्रियताविच खेलकुद पत्रकारिताका क्षेत्र पनि कम चुनौतिपूर्ण छैन ।
विशेष विधा
सामान्य वुझाइमा खेलकुद मनोरन्जन हो । यसको वारेमा लेख्नु पनि मनोरन्जनकै एक पाटो । यो पनि पत्रकारिताका सामान्य नियमभत्रि रहेर गर्न सकिन्छ जसरी अरु विषयः आर्थिक, राजनैतिक, आपराधिक सामाजिक, मनोरन्जनात्मक क्षेत्रका पत्रकारितामा गरिन्छ । तर खेलकुद पत्रकारितालाइ पत्रकारिताको विशेष विधाभित्र राखिन्छ । यसरी राख्नुमा आफ्नै कारणहरु पनि छन् । पहिलो कुरा खेलकुदले प्रत्यक्ष रुपमा ‘खेल’, ‘प्रतिस्पर्धा’ अर्थात शारीरिक प्रतिस्पर्धाको प्रतिनिधित्व गर्दछ । यो एक खालको प्रतिस्पर्धाको संस्कार वोकेको क्षेत्र हो जहाँ हार जीत र यसका क्रिया प्रतिक्रियाको लेखाजोखा गरिन्छ । मनोरन्जनसँग सँगै व्यक्तिगत क्षमता र सृजनाको लेखाजोखा खेलकुदले गर्दछ । अर्को कुरा खेलकुद स्वयमले सन्चारमाध्यमलाइ नै खेलाउदछ अर्थात खेलकुदले नै सन्चारमाध्यमको यस्तो विषयवस्तु बन्दछ जसले सन्चारमाध्यकै परिचय बोकेको हुन्छ । उदाहरणका रुपमा विश्वकप फुटबल देखी क्रिकेट, कार रेस, वाइक रेस, टेनिस लगायतका खेलकुदका प्रत्यक्ष प्रसारण वा प्रसारणमा चलेका च्यानलहरु, यीनै खेलकुदका लागि मात्र भनेर खोलिएका विशेष च्यानल, वेबसाइट वा पत्रिकाहरु । यिनै भिन्न प्रवृत्तिले खेलकुद पत्रकारितालाइ विशेष बनाउदछ । 
आक्षेप र आलोचना
दक्षिण अफ्रिकाका प्रोफेशर डक्टर थोमास हर्कीले खेलकुद पत्रकारितालाइ मात्र मनोरन्जनमा सीमित हुनु, खेलकुद क्षेत्रका संवेदनशील विषयलाइ वेवास्ता गर्नु, खेलकुद पत्रकारले आफ्नो पेशागत मर्यादा विपरित कुनै खेलको तटस्थ समालोचक नभइ समर्थकको रुपमा प्रस्तुत हुनु जस्था आक्षेप र आलोचना खेलकुद पत्रकारमाथि लाग्ने गरेका आफ्नो एक लेखमा उल्लेख गरेका छन् । उनले उल्लेख गरेका विषयवस्तुमा मत बटुल्यो भने पनि हर्कीकै तर्कको पक्षमा उभिनेको संख्या बढी होला । पत्रकारिताको सिद्धान्त विपरित उभिएको पक्षपाती पत्रकारिताका नै खेलकुद पत्रकारिताको चुनौती हो । खेलकुद पत्रकारितामा पक्षपात (एक पक्षको समर्थनमा समाचार लेख्ने वा प्रभावित भएर लेख्ने)का अलावा, विषयवस्तुको गहनताको अभाव, खेल र खेलाडीसँग जोडिएका भावनात्मक सम्बन्ध (समर्थक बनेर समाचार लेख्नु), नतिजामात्र केन्द्रित रिर्पोटिङ (नतिजा अरु सहकर्मीलाइ सोधेर समाचार बनाउने र लेख्ने प्रवृत्ति) ले निम्त्याउने परनिरर्भरता र त्यसले गुमाउने समाचारको मौलिकताका साथमा  खेलकुदका आयोजक र प्रायोजकले पार्ने दवाव इत्यादी खेलकुद पत्रकारितामा देखिएका चुनौतीहरु ह्ुन् । खेलकुद पत्रकारिताको अस्तित्वका लागि यी सबै विषयवस्तु विचारणीय छन् ।
खेलकुद पत्रकारको भूमिका
जसरी खेलकुद पत्रकारिताले विशेष क्षेत्रको ओझ बोकेको छ त्यसैगरि खेलकुद पत्रकारले पनि विशेष पत्रकारको परिचय वोक्छन् त ? पत्रकारिताका आधारभूत सिद्धान्त नै उनिहरुको पेशाको कडी हो । तर खेलकूदमा रुची नभए, सम्बन्धित खेलमा बोलिने लेखिने शब्द, नाम (जस्तैः क्रिकेटको शतक न की शताब्दी) खेलका सामान्य नियमको ज्ञानको अभावमा खेलकुद पत्रकारिता सतही बन्न सक्छ । यती सम्मको हकमा खेलकुन पत्रकारितालाइ मुख्य विधाभन्दा अलि भिन्न भन्न सकिएला । खेलकूद पत्रकारलाइ यी तिन भूमिकामा भिन्न मान्न सकिन्छ  १) खेलकुद पत्रकार रेडियो, टिभी, वेवसाइट मार्फत प्रत्यक्ष रुपमा वोलेर लेखेर (लाभइ रिर्पोटिङ, कमेन्ट्री गरेर) खेलका वा खेलाडीका समाचार वाहक बन्न सक्छन् । २) विशेषज्ञका रुपमा लेख रचना लेखेर खेलकूद र खेलकुद पत्रकारिताको सही व्याख्या गर्न सक्छन् । तथा ३) अनलाइन पत्रकारिताको जुर्मुराउदो अवस्थामा ब्लग, विभिन्न सामाजिक सन्जाल फेसवुक, ट्विटर आदीमा आफ्नो व्यक्तिगत विचार र ज्ञानले आलोचना समालोचना गरेर खेल, खेलाडी र समाजविच सामन्जस्यकर्ताको भूमिका निभाउन सक्छन् ।
अर्को पाटोमा खेलकुद मनोरन्जनको साधन मात्र नभएर राष्ट्रलाइ एकताको सुत्रमा बाध्ने माध्यम भएको तर्क एक स्थापित सत्य जस्तै बनिसकेको छ । यो विधालाइ धान्ने खेल पत्रकारले खेलकुद पत्रकारिताका यी विविध नाफा र घाटाका विषयलाइ कतिसम्म सन्तुलित बनाउने भन्ने भार वोकेका हुन्छन् । चुनौतिका यी पक्षहरुलाइ समालोचना गरेर खेलकुद पत्रकारितालाइ भिन्न र विशेष बनाउने दायित्व खेलकूद पत्रकारितासँगै गाँसिएको हुन्छ । (यो लेख नेपाल खेलकूद पत्रकार मन्चकाे वर्ष खेलाडी पुरस्कार २०७२ काे एकता प्रकाशनको लागि तयार पारिएको हो)

Saturday, June 13, 2015

ललितदाइ विना अपुराे फुटबल

“तिमीसँग डुंगामा घुम्दाघुम्दै फेवालताल, नसोच कस्तो भयो होला मेरो दिलको हाल” प्रकाश श्रेष्ठको यो सदावहार गित ‘ललितदाइ’ लाइ खेलकुद पत्रकारले जिस्क्याउने प्यारो गित हो । निरन्जन राजवंशी, अजय फुयाँल, महेश आचार्य, प्रकाश तिमल्सिना यिनै नामहरु हुन जससँगको भेटघाट जम्यो कि त ललितदाइ र यो गितको प्रसंग आउथ्यो “टिमीसँग डुगाँमा घुम्डाघुम्डै फेवाटाल........” गित त्यहि थियो लय पनि त्यहि । 
तर ललितकृष्ण श्रेष्ठको ‘त’ लाइ नेवारी टोनमा ‘ट’ उच्चारण गर्ने स्टाइलको नक्कल दाइहरुले यसरी गर्नुहुन्थ्याे जसले हेरक पटक हाँसोको फोहोरा छुट्दथ्यो । मलाइ यो गितको प्रसंग थाहा थिएन आज पनि थाहा छैन । तर जुनसुकै शैलीमा जिस्काएपनि नरिसाउने उनको स्वभाव थियो जसले पत्रकारविच ललितदाइको न्यानो परिचय बनाएको थियो । ललितदाइलाइ हरेक पटक भेट्दा मेरो मानसपटलमा यो गित आउथ्यो । 


शुक्रबार राति करेन्ट लागेर उनको मृत्य’ भएको खवर आज विहान ट्विटरबाट पाउदा पत्याउन गारो भयो त्यो असामयिक निधन अपत्यारिलो थियो तर आफैमा अचम्म लाग्दो त के थियो भने लगभग दुइ वर्ष भइसक्यो मैले फुटबल खेलको विषयमा लेख्न छाडेको अनायासै मेरो मनमा आवाज आयो ‘नेपाल फुटबल’। 

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ नेपाली फुटलका यस्ता सेतु थिए, जसले सवै विवादमा समन्यकारी भुमिका निभाउथे, आफ्नो आलोचनालाइ मनन गर्दथे, खेलाडीलाइ बोलेकै भरमा सन्तुष्टि दिलाउन सक्थे । सदैव विवादको घेरमा अल्झीरहने नेपाल फुटबलको अवस्था अव के हुन्छ मेरो मनमा यो प्रश्न एकै चोटि उब्जियो । साइतमा नयाँ घरमा छिरेका ललितदाइ विजुलीको तार मिलाउदा करेन्टमा पर्नुभयो । मंगलबजारको उनि बसिरहेको घर भुकम्पले बस्न नहुने बनाइदियो । कोठा खोज्दा भेटिएन । त्यसैले उनि भैसीपाटीको आफूले बनाएको घरमा सर्नका लागि हतारिएका थिए । वाइरिङ नगरेको घरमा साइतको पूजा गरेर एक रातका लागि बस्न गएका थिए । छिमेकीको घरबाट एक रातका लागि ल्याएको विजुलीको तार मिलाउदा उनलाइ करेन्ट लाग्यो । 
 सानो झट्काले ललितदाइको ज्यान लियो ठुलो झटका नेपाली फुटललाइ लाग्यो, एन्फालाइ लाग्यो, उनले सम्हालिरहेको थ्रि स्टार क्लबलाइ लाग्यो । सिंगो थ्रिस्टार क्लबको उनि भरोसा थिए । एन्फा भित्रको विवाद, दुइ फुटबल संघ हुदाका विवादको दलदलबाट नेपाली फुटबललाइ पार लगाउने तिनै ललितदाइ थिए । 
खेलाडीका रुपमा ललितलाइ कस्ता थिए मलाइ थाहा छैन, तर पदाधिकारीका रुपमा ललितदाइ नेतृत्वमा कुशल थिए । खेलकुद पत्रकारका रुपमा मैले गरेको संगतमा उनी नेपाली खेलकुदै सबैभन्दा सहज ब्यक्तित्व थिए । मिठो होस कि तितो जे प्रतिक्रिया दिन पर्दथ्यो उनि दिन्थे, केहि जानकारी लिन परे उनि सदैव उपलब्ध हुन्थे र टिकाटिम्पणीबाट उनी विचलित हुदैन थिए । उनको यहि मिजासिलो ब्यवहार र अप्ठ्यारो परिस्थितीलाइ मिलाउन सक्ने क्षमताका कारण ‘ललितदाइ’ नेपाली फुटलमा सर्वत्र थिए । 
पशुपति आर्यघाटमा उनको आज अन्तिम दाहसंस्कारमा उर्लिएको फुटबल परिवार हेर्दा लाग्दथ्यो उनको परिवार विशाल थियो । तर उनले आफ्नो परिवारलाइ अपुरो छोडेर गए । सबैका मृत्यु पीडादायी हुन्छ । संसार छोडेर जानेले कसै न कसैलाइ अपुरो बनाएरै जान्छन् । नेपाली फुटबलका लागि उनको असामयीक निधनल एउटा खालीपन महसुस भएको छ । आर्यघाटमा चितामा उनको लाश जलिरहदा महेश आचार्यकै अभिब्यक्ति सम्जmदा फुटबलको वागडोरलाइ च्वाट्टै पारेको ललितदाइको मृत्यु “नेपाली फुटबलका लागि वास्तविक अपूरणीय क्षति” हो । यो सत्यसँग शायद कोइ असहमत नहोला की फुटबलले अव अर्को ‘ललितदाइ’ कहिल्यै पाउने छैन ।