Pages

Wednesday, July 10, 2013

कप्तान पारसको बर्मुडा डायरीबाट


दुई महिना अघि वर्मुडाको नेपाली क्रिकेटको त्यो यात्रा शायद नेपाली क्रिकेटका लागि कहिल्यै पुरानो नहोला । चमत्कारजस्तै त्यो यात्राले बर्षौदेखिको विश्वकप क्रिकेट नजिक पुग्ने सपनालाई विपनामा परिणत गरेको थियो, त्यो पनि हारको संघारबाट फर्किएर । नेपाली क्रिकेट समर्थकका लागि आइसीसी विश्व क्रिकेट डिभिजन तिनको त्यो यात्रा, अनि उपाधिको उल्लाहस सदैव ताजा संस्मरण बनेको छ । पत्रकारको जिम्वेवारीभन्दा पनि नेपाली क्रिकेटको समर्थकको नाताले कप्तान पारस खड्रकालाई मैले यो यात्राका अन्तर मनका भावना साट्न अनुरोध गरेकी थिए । आज उनको त्यो रोमान्चक अनुभवको वेलिविस्तार लगाउन मन लाग्यो उनकै शब्दमा । यसरी शुरु भयो, अनि टुंगियो पारसको मनको डिभिजन तिनको त्यो यात्रा । जहाँ मैदानको प्रतिस्पर्धा भन्दा पनि मनले लिएको संकल्प, अठोट अनि कहिँकतै निराशाको विन्दुमा पुगेको, एउटा कप्तान, एउटा क्रिकेटर अनि एउटा इमान्दार हिरोको भावनात्मक यात्रा बर्मुडाको, यात्रा नेपाली क्रिकेटको ।

 .......वर्मुडा जानु अघि मलाई ज्ञानुको भिसाको चिन्ता थियो । उ टिमको मुख्य खेलाडी थियो । सबैभन्दा राम्रो खेलाडी भएन भने हामीलाई सबैभन्दा घाटा हुने थियो । धन्य सबै कुरा मिल्यो एक दुई दिन अघि भएपनि उ बर्मुडा पुग्यो । ज्ञानुको भिसाको चिन्ता चाहि मेरो दिमागमा एकदम खेलिराथ्यो । पहिलो दुइवटा खेलमा म्याच हार्नुको कारण त्यति राम्रो खेल्न पनि सकेनौं, खास कारण त मैदान नै हो । त्यत्ति सानो मैदानमा के गर्ने या नगर्ने ।
टस जित्यौं । सानो मैदानमा लक्ष्य पछ्याउन सजिलो हुन्छ भनेर फिल्डीङ रोज्यौं । तर टेलरले एक दमै राम्रो खेलिदियो । एउटै खेलाडीले एकसय ६० रन हान्छ भने कमब्याक गर्न गाहो हुन्छ । युगान्डासँगको दोस्रो म्याच त हामिले नराम्रो खेलेकै हौं । गेम प्लानले काम गरिरहेको थिएन। ज गर्ने भनेर सोचिन्थ्यो, त्यहि गलत भइरहेको थियो । पहिलो म्याच फिल्डीङ रोज्नु गलत भयो। दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्यौं त्यो गलत भयो । सबै कुरा उल्टो उल्टो भइरहेको थियो । अभ्यास खेल मात्र होइन । बर्मुडा जस्तो ठाउँमा अलि धेरै समय दिनु पर्ने रहेछ ।

 कम्तिमा एक साता अघि जानु पर्दो रहेछ भन्ने महसुस भयो। भिन्न महादेशमा प्रतियोगिता खेल्न जाँदा केहि दिन अगाडी नै पुग्नु पर्दो रहेछ  । दुई खेल हारिसकेपछि पनि आशा त एकदमै कम थियो । तर एउटा कुरा चाँहि मनमा के थियो भने हामीले हाम्रो क्षमता अनुसार खेलिरहेका छैनौं । दुइवटा म्याच खेलिसक्यौं, हारिसक्यौं भनेर विश्वासै गर्न गारो भइरहेको थियो । त्यसमाथी मैदान यति सानो कि वलिङ गरेको पनि को हि होइन, ब्याटिङ गरेको पनि हो कि होइन । 
.......जे भयो भयो, त्यसमा हाम्रो नियन्त्रण छैन । बाँकी खेलमा भने नियन्त्रण गर्न सक्छौं, त्यहि भएर खेल राम्रो खेल्न पर्यो भन्ने सल्लाह भयो । अन्तिम खेलसम्म टिमको आशा वचाइराख्न के के अवस्था र संभावना हुन सक्छ भनेर हामिले हिसाव किताब गरेका थियौ । यो प्रतियोगिताको बिशेषता भनेको सबै टिमको स्तर समान थियो। रेलिगेसनमा परेको ओमान पनि राम्रो थियो ।

हाम्रो लागि पनि चाहे मान्नोस या नमान्नोस मैदानले नै खेललाई असर पारेको थियो । शायद प्रतियोगिता हारेको भए हाम्रो लागि त्यो एक्स्क्युज मागेको जस्तो हुन्थ्यो होला अहिले जितेर भन्दा विश्वास लाग्न सक्छ । हारेको भए मैदानको कारण देखाउदा त्यहि बिषयलाई आलोचना हुन्थ्यो होला । तर अहिले त्यो समस्या छैन। मरो भनाई के हो भने मैदानले क्रिकेट खेलमा धेरै नै फरक पार्छ । यति सानो मैदान थियो कि मैले कहिले पनि त्यति सानो मैदानमा खेलेको थिइन । विद्यालय स्तरको प्रतियोगिता पनि मैले त्यति सानो मैदानमा खेलेको थिइन ।

 व्यक्तिगत रुपमा म आफुलाई ५० ओभरमा यो प्रतियोगितामा असफल भए भबिश्यमा कुनै संभावना देख्दिनथे । ट्टिवान्टी चाँहि खेलिन्थो होला । अब चार पाँच बर्षपछि ५० ओभरमा निरन्तरता दिनु गारो कुरा थियो । म आफै निरन्तर हुन सक्ने थिइन । यहि डर सबैमा थियो। यसले गर्दा हामीले मिहिनेत पनि गरेका थियौं । मिहिनेत गरेकै भएर भाग्यले पनि साथ दियो । साथमा प्रशिक्षकले पनि राम्रो प्रशिक्षण दिएका थिए ।

यो अवसर गुमाएको भए यतिको केन्द्रित भएर शायद अर्को प्रतियोगिता खेलिदैनथ्यो होला भन्ने लागेको थियो। हामी ६÷७ जनाले कम्तिमा युवा खेलाडीलाई छोडिदिन पथ्र्यो होला । किनभने हामिले तिन चार पटक विश्व क्रिकेट लिगमा प्रयास गरिसकेका थियौं । त्यसले गर्दा म आफैलाई ५० ओभरमा अब निरन्तरता दिन्न कि भन्ने शंका थियो ।

 यथार्थमा भन्नु पर्दा डिभिजन दुईमा पुग्नु या नपुग्नु हाम्रो क्यारिएरसँग जोडिएको कुरा थियो । क्रिकेटमा भविश्य सुनिश्चित छैन त्यो हामीलाई थाहा थियो। कम्तिमा डिभीजन दुईमा पुगियो भने केहि मात्रामा अवसर र केहि मात्रामा आर्थिक स्थिति मजबुत हुने कुरा थियो। यो हाम्रो सपना र लक्ष्य सबै थियो । साथमा यो पुस्तामा नेपाली क्रिकटले धेरै आशा गरेको थियो । त्यो स्वभाविक थियो । हामी लामो समयसम्म खलिरहेका थियौं । धेरै खारिएका खेलाडी थिए । यो पुस्ताले गर्न नसके फेरि अर्को यस्तै टिम तयार गर्न भनेको १० बर्ष लाग्थ्यो । यसपटक असफल भएको भए हाम्रो यात्रा धेरै निराशाजनक हुन्थ्यो । यत्रो बर्ष खेलियो । १० बर्ष हुन लागिसक्यो खेलेको, मिहिनेत गरेका आखिर आएर के भयो त भन्दा केहि न केहि, भनेर नमज्जा लागेको थियो ।

जुन तरिकाले हामी प्रतियोगितामा गाको थियौं, अगाडी राम्रो नतिजा निकालेका थियौं । तयारी राम्रो थियो । तरैपनि लगातार दुई खेल हायौं । सिनीयर टिममा हामिले ५० ओभरमा दुइवटा म्याच लगातार हारेकै थिएनौं । इटाली विरुद्धको खेलमा टस जित्नु एकदम जरुरी थियो । पहिले ब्याटिङ गरेको भए त्यत्तिको अन्तरमा जित्न असंभब थियो । हामीले पहिले ब्याटिङ गरेको भए धेरै भएको भए २०० रन बन्थ्यो । अनि हामिलाई सय रनको अन्तरले जित्नु पर्दथ्यो जुन असंभव नै थियो ।
 टस जित्यौं । उनीहरुलाई रन हान्न दिएनौं । सोचे अनुरुप भयो। सुवास र प्रदिपले राम्रो खेले, सोचे अनुरुप सहज तरिकाले खेल जित्यौं । त्यतिबेला मलाई के लाग्यो भने सबै कुरा शायद लेखिएको हुँदो रहेछ । तर त्यसलाई पाउन सकारात्मक सोच र मिहिनेतको आवश्यकता हुदो रहेछ । प्रशिक्षक र टिमको इच्छा शक्तिले पनि हामीलाई सहयोग गर्यो । 
यो उपलब्धि हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ, खेलाडीको भबिश्यको लागि । म पनि कप्तान भन्दा पहिले एउटा खेलाडी हुँ । कप्तान म हिजो थिइन आज भएँ भोलि नहुन सक्छु । तर खेलाडी रहिरहन्छु । हो खेलाडीको भबिश्य सुनिश्चितताको लागि यो जित महत्वपूर्ण थियो । त्यसैले छनोट हुँदाको पल सबैभन्दा खुशिको थियो । अमेरिका  र बर्मुडा विचको खेलको नतिजा कुर्नु थियो । त्यो लगभग दुई घण्टाको समय सारै तनावपूर्ण थियो । के गर्ने के नगर्ने । कोही कता कोही कता । छनोट भएपछि एकछिन त हो कि होइन जस्तो लाग्यो ।
बर्मुडालाई जित्नै पर्ने अवस्था थियो। नत्र रेलिगेसनमा पर्दथ्यो । हो यहि नेर हाम्रो भाग्य चम्कियो अव माथिल्लो स्तरमा पुगेका छौं । सबैको खेलको स्तर सुधार्न पर्ने चुनौति छ ।  किनकी जुन स्तरमा अब नेपालले खेल्छ, त्यहाँ टिक्न ठुलो परिश्रम चाहिन्छ । हाम्रो भबिश्य सुनिश्चित गर्ने बाटो खुलेको छ । अब हामी आफैले मिहिनेत गर्नुपर्छ । अब कसैको हातमा होइन हाम्रो भविश्य हाम्रै हातमा छ । मिहिनेत गर्यौं भने त्यो स्थानमा पनि पुग्छौं ।

 ब्यक्तिगत रुपमा हामिले आफ्रनो तयारी गरिरहेका छौं । खेलाडीविच प्रतिस्पर्धा पनि छ । नगरि सुख छैन । प्रदर्शन भएन भने टिममा टिकीदैन भन्ने सबैलाई थाहा छ । राम्रो गर्न पर्यो र टिममा फिट पनि हुन पर्यो। कहिलेकाही कस्तो हुन्छ भने खेलाडी राम्रो छ तर टिममा फिट हुदैन । हामीलाई अव ब्याक्तिगत होइन टिमका लागि खेल्ने खेलाडी चाहिन्छ । कुनै खेलाडी अठार बिसको होला तर बिस वाला खेलाडी मै हुँ भनेर बस्छ, अठारको खेलाडीमा सामूहिक भावना छ भने त्यो खेलाडी पहिलो रोजाइमा पर्छ ।
 कप्तानको रुपमा मैले सक्दो गरेको छु । जहाँसम्म मलाई लाग्छ म इमान्दार छु । मैले बोल्ने भनेको मेरो लागि होइन खेलाडीको लागि हो । हामीले जे कुराको चाहना राख्छौं, त्यो हामीले स्वतः पाउनु पर्ने कुरा हो, तर हामीलाई दिइएको हुदैन । हामीले एउटाएउटा कार देउ भनेको पनि छैन । क्रिकेट र खेलकुदको संस्थासँग हामिले माग्ने भनेको सीमित स्रोत साधनमा पनि कतिपय कुरा गर्न सकिन्छ, हो हामी त्यो कुरा खोज्छौं.........

5 comments:

  1. गज्जब लाग्यो, लेखलाई ३/४ paragraph मा छुट्याउन पाको भए पढ्न अझ सजिलो हुन्थ्यो !!

    ReplyDelete
  2. beautifully presented his feelings and experiences regarding Nepali cricket world.

    ReplyDelete
  3. We can imagine how loyal Paras Khadka is, in the process of making his team strong. Hats off to u Paras!

    ReplyDelete